अधिकृत वारेसनामको कागज प्रमाणित गर्ने प्रकृया तथा आवश्यक कागजपत्र सम्बन्धी जानकारी
- मुलुकी देवानी कार्यविधि संहिता,२०७४ को दफा १५४ र मुलुकी देवानी संहिता, २०७४ दफा ४२५ मा उल्लेख भएबमोजिमको कामको लागि अधिकृत वारेस नियुक्त गर्नुपर्ने भए तोकिएको ढाँचामा नेपाली कागजमा रितपूर्वक लेखिएको अधिकृत वारेसनामाको कागज दुई प्रति तयार गर्नु पर्दछ ।
- अधिकृत वारेसनामा को कागज अनुभव प्राप्त व्यक्ति, कानून व्यवसायी वा लेखन्दासबाट तयार गराउनु होला ।
- अधिकृत वारेसनामा दिने व्यक्तिले मुलुकी देवानी कार्यविधि नियमावली, २०७५ को अनुसूची-४५ बमोजिमको व्यहोरा खुलेको एउटा निवेदन महावाणिज्यदूतावासमा पेश गर्नु पर्दछ।(निवेदन अधिकृत वारेसनामा को कागज लेखिदिने व्यक्तिले नै तयार गरिदिन्छन्)
अधिकृत वारेसनामा प्रमाणिकरणका लागि देहाय बमोजिम कागजात आवश्यक पर्दछ:
- अधिकृत वारेसनामा दिने र लिने दुवै जनाको नागरिकताको प्रमाणपत्रको नोटरी पव्लिकद्वारा प्रमाणित प्रतिलिपि ।
- घर जग्गा विक्री वा तत्सम्बन्धी अन्य कामका लागि अधिकृत वारेसनामा नियुक्त गर्नुपर्ने भए सम्बन्धित जग्गाको जग्गाधनी प्रमाणपत्रको सक्कलै प्रति एवं सोको फोटोकपी एक प्रति आवश्यक हुन्छ।
(जग्गाधनी प्रमाणपत्रको सक्कल पेश नगरेसम्म अधिकृत वारेसनामा प्रमाणित गरिने छैन)
- सम्बन्ध विच्छेद सम्बन्धी मुद्दाको लागि अधिकृत वारेसनामा नियुक्त गर्नुपर्ने भए विवाह दर्ता प्रमाणपत्र वा पती पत्नी बीचको नाता प्रमाणित प्रमाणपत्रको सक्कल वा नोटरी पव्लिकद्वारा प्रमाणित प्रतिलपि ।
- अधिकृत वारेसनामा दिने र लिने दुवै जनाको छ महिना भित्र खिचेको २/२ प्रति फोटाहरू ।
- अधिकृत वारेसनामा को कागजको किनारामा दुई जना साक्षीको नाम, थर, उमेर र ठेगाना खुलाई उनीहरूको हस्ताक्षर भएको हुनुपर्छ। साक्षीहरूको नागरिकताको प्रमाणपत्रको नोटरी पव्लिकद्वारा प्रमाणित प्रतिलिपि पनि संलग्न गरिनुपर्नेछ। साथै, कागज तयार गर्ने वकिल वा लेखन्दासको समेत पूरा नाम र दस्तखत भएको हुनुपर्छ ।
- अधिकृत वारेसनामा दिनेले राजदूतको रोहवरमा सहीछाप गर्नुपर्ने भएकोले राजदूतावासमा स्वयं उपस्थित हुनुपर्नेछ। अधिकृत वारेसनामा को कागज राजदूतले नै प्रमाणित गर्नुपर्ने भएकोले राजदूतावासमा सम्पर्क गरी राजदूतको समय लिएर मात्र आउनु हुन सम्बन्धित सवै सेवाग्राहीहरूलाई राजदूतावास अनुरोध गर्दछ ।समय नलिइ आउँदा कदाचित अधिकृत वारेसनामा प्रमाणित हुन नसक्ने अवस्था भएमा राजदूतावासको जिम्मेवारी हुनेछैन।
- अधिकृत वारेसनामा को कागजको अन्त्यमा मिति लेख्दा साल, महिना, गते र रोज खाली राख्नुहुन । अधिकृत वारेसनामा प्रमाणित गरेका दिन मात्र मिति लेखिने भएकोले खाली छोड्नुपर्छ ।
(जस्तै इति सम्वत् साल महिना गते रोज शुभम् )
- अ.वा प्रमाणिकरण गर्न कन्सुलेटमा आउनु अघि कन्सुलेटमा सम्पर्क गरेर तयार गरिएको अधिकृत वारेसनामाको कागज ठिक छ छैन चेक गर्नलाई मोबाइल नम्बर 0505169460 मा WhatsApp गर्न सकिनेछ ।
- सहजताको लागि अधिकृत वारेसनामा प्रमाणित गर्न आउनु अघि सो प्रमाणित गर्ने अधिकारी (महावाणिज्यदूत वा कार्यवाहक महावाणिज्यदूत) कार्यालयमा उपलब्ध भए नभएको बुझेर मात्र आउनु होला ।
लाग्ने शुल्क:
- मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५३ को उपदफा (२) बमोजिमको मुद्दा किटान नगरिएको अधिकृत वारेसनामा प्रमाणित गर्न साउदी रियाल १५ (पन्ध्र)
- तीन पुस्ताभित्र सम्पत्ति बिक्री गर्ने वा हक छाडिदिने गरी गरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा जम्मा साउदी रियाल १५(पन्ध्र) तीन पुस्ताभित्र बाहेक बिक्री वा हक हस्तान्तरण गर्न गरिएको अधिकृत वारेसनामा प्रमाणिकरण गर्न साउदी रियाल १४५ (एक सय पैंतालिस)