साउदी अरबियामा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्नेसम्बन्धी सूचना

साउदी सरकारले गत मे २०, २०२१ मा उक्त मिति पछि साउदी अरबिया प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक (non-vaccinated travelers) साउदी आएपछि अनिवार्यरूपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको सबैमा जानकारी नै छ ।

यसरी सात दिन संस्थागत क्वारेन्टिन बस्दा करिब ३,५००।– साउदी रियाल खर्च लाग्ने भएकाले साउदी अरेबिया आउने नेपाली कामदारले संस्थागत क्वारेन्टिनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिनका अनुरोध गरिएकोमा साउदी अरबियामा आउने कामदारहरूको संस्थागत क्वारेन्टिन खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्ने जानकारी साउदी सरकारबाट प्राप्त भएको छ ।

तसर्थ, साउदी अरबियामा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च कामदारले तिर्नु नपर्ने भएकाले छुट्टीमा घर गएर साउदी अरेबिया फर्किन लाग्नुभएका नेपाली कामदारहरूले संस्थागत क्वारेन्टिनको खर्चका बारेमा आ-आफ्नो रोजगारदाता कम्पनीसँग कुरा गर्नुहुन अनुरोध छ । साथै, नयाँ आउने कामदारहरूको क्वारेन्टिन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकोले क्वारेन्टिनका नाममा हुनसक्ने संभाव्य ठगीबाट बच्नु हुन समेत अनुरोध छ ।

नेपाली महावाणिज्यदूतावास, जेद्धा ।
१५ असार २०७८