शव नेपाल पठाउने सम्बन्धी प्रकृया
शव नेपाल लैजान के -के प्रकृया पुरा गर्नु पर्छ ?
कम्पनी वा रोजगार प्रदायकसंगको कार्य सम्झौता अवधि भित्रै कामको सिलसिलामा मृत्यु भएको कामदारको शव नेपाल पठाउने तथा त्यसका लागि पुरा गर्नु पर्ने सम्पुर्ण जिम्मेवारी स्थानीय कानुन बमोजिम सम्बन्धित कम्पनी/रोजगार प्रदायकको रहन्छ । नियोग आफैले पुरा गरिदिनु प्रकृया खासै हुँदेनन तर कम्पनी एवम् नातेदारहरुसंग समन्वय र सहजिकरणको कार्य गर्दछ ।
कुनै कम्पनीमा कार्यरत कुनै नेपाली कामदारको मृत्यु भएको खण्डमा त्यस्तो कम्पनी/प्रायोजकको प्रतिनिधि (साउदी नागरिक) निम्न कागजातहरू साथमा लिएर दूतावासमा उपस्थित हुनुपर्ने हुन्छ:
- मृत्यु सम्बन्धी विवरण (दुर्घटना कसरी, कहिले, कहाँ भयो)
- मृतकको इकामा र राहदानीको फोटोकपी
- प्रतिनिधिको परिचयपत्रको फोटोकपी
उल्लिखित कागजातहरू प्राप्त भएपश्चात, मृत शरीर फिर्ता गर्न आवश्यक पर्ने विभिन्न कागजातहरू तयार गरी प्रकृयाहरु अघि बढाउनका लागि कम्पनी/प्रायोजकको प्रतिनिधिको नाममा नियोगबाट सर्वप्रथम Letter of Authorization (LOA) जारी गरिन्छ (केही क्षेत्रमा नियोगको पत्रबेगर समेत प्रकृया अघि बढाउने गरेको बुझिएको ।LOA ले कम्पनी/प्रायोजकलाई साउदी अरबका विभिन्न सम्बन्धित निकायहरुबाट आवश्यक कागजातहरू प्राप्त गर्न सहजिकरण गर्छ ।
नियोगबाट LOA प्राप्त गरेपश्चात कम्पनी/प्रायोजकले विभिन्न निकायहरुबाट देहायका कागजातहरु प्राप्त गर्नु पर्दछ
- मृत्यु प्रमाणपत्र
- प्रहरी रिपोर्ट
- मेडिकल रिपोर्ट
- विमा (GOSI) दर्ता र सूचना प्रमाण
उल्लिखित कागजात सहित निम्न अनुसारका वस्तु/विवरणहरु नियोगमा पेश गरेपश्चात No Objection Certificate (NOC) जारी गरिन्छ:
- अन्तिम तीन महिनाको तलब बुझेको प्रमाण
- बाँकी तलब र भत्ताहरू (चेक नेपाली महावाणिज्यदूतावास, जेद्दाको नाममा जारी गर्नुपर्नेछ)
- मृतकको स्वामित्वमा कुनै मालसामानहरु भए सोको विवरण सहित दूतावासमा सामान प्रस्तुत गर्नुपर्नेछ
नियोगले मृतकको शव नेपाल फिर्ता पठाउन नियोगले NOC जारी गर्नु अघि मृतकले सम्बन्धित कम्पनी तथा प्रायोजनका पाउनु पर्ने सुविधाहरु प्राप्त गरेको, निजका व्यक्तिगत मालसामान एवम् सम्पत्तिहरु नियोगलाई बुझाएको क्षतिपूर्ति तथा विमाको रकमको दावीका लागि प्रकृया गरेको यकिन गरेर मात्र NOC जारी गर्दछ ।
कम्पनीले माथी उल्लेख भएबमोजिम कागजात तयार गर्न के कस्ता प्रकृया गर्नु पर्दछ?
- नेपाली नियोगबाट NOC प्राप्त गरे पश्चात सम्बन्धित कम्पनीले नेपाली नागरिकको मृत्यु भएको स्थानको नजिकको प्रहरी कार्यालयमा घटनाको रिपोर्ट गर्नु पर्दछ ।
सम्बन्धित प्रहरी कार्यालयले शव फिर्तीको लागि सम्बन्धित प्रादेशिक निकाय (Governorate) को स्वीकृतिको लागि पठाउनु पर्दछ । प्रहरी कार्यालयमा रिपोर्ट गर्नु अघि कम्पनीले देहायका प्रकृयाहरु पुरा गरिसकेको हुनु पर्नेछ :
- स्थानीय श्रम कार्यालयबाट जारी भएको कम्पनीले मृतकलाई भुक्तानी गर्नुपर्ने कानुनी दायित्व भएका End of Service Benefits (ESoB) लगायत सबै सुविधाहरु भुक्तानी भएको Clearance लिएको
- मृतकको पासपोर्टमा साउदी अरबको पासपोर्ट कार्यालय (Jawazat) बाट Final Exit visa प्राप्त गरेको
- Civil Affairs Department (Ahwal Al- Madani) बाट मृत्युदर्ताको प्रमाणपत्र प्राप्त गरेको
- सम्बन्धित Governorate बाट शव फिर्ता लैजाने clearance प्राप्त भएपश्चात प्रहरीले सम्बन्धित अस्पताललाई शव transport गर्ने इजाजत (Tasreeh Al-dafan) प्रदान गर्दछ ।
- तत्पश्चात कम्पनी वा प्रयोजकले शव ढुवानीका लागि शवको संरक्षण गर्ने कार्य (embalming) गर्न र कफिनबापतको शुल्क र अन्य आवश्यक शुल्कहरु समेत सम्बन्धित अस्पतालमा दाखिला गर्नु पर्दछ ।
- सो पश्चात सम्बन्धित अस्पतालले Embalming Certificate (Shahadathul Thahneeth) जारी गर्दछ ।
- त्यस्तो प्रमाणपत्र जारी भएपश्चात सम्पुर्ण कागजात सहित कम्पनीले शव ढुवानी गर्ने एअरलाइन्सको कार्गो अफिसमा सम्पर्क गर्दछन ।
- कार्गो एजेन्टहरुले साउदी अरबको कार्गो टर्मिनलमा शव पठाउनका लागि मिति बुक गर्नु पर्दछ ।
- सम्बन्धित कार्गो एजेन्टहरुले नेपालमा रहेका नजिकको नातेदार वा कानुनी हकदारको शव बुझ्ने Consent प्राप्त गरेपछि शव नेपाल पठाउँछन ।
साउदीमा नेपाली श्रमिकको मृत्यु भएपछि शव नेपाल आइपुग्न कति समय लाग्छ ?
- कुनै पनि शव नेपाल पुग्न कति समय लाग्छ भन्ने कुरा मृत्युको प्रकृति (प्राकृतिक वा अप्राकृतिक), मृत्यु भएको स्थान (शहरी क्षेत्र वा ग्रामिण क्षेत्र), साउदी अरबमा निजको मृत्यु हुँदाका वखतको कानुनी हैसियत (कानुनी वा गैरकानुनी), मृतकको नाममा कुनै अभियोग लागेको/नलागेको अवस्था र लागेको भए सो को प्रकृति जस्ता कुरामा भर पर्दछ ।
- उदाहरणको लागि प्राकृतिक मृत्यु भएको अवस्थामा भन्दा दुर्घटनामा मृत्यु भएमा वा हत्या, आत्महत्या जस्तो अवस्थामा पुरा गर्नु पर्ने विभिन्न प्रकृयाका कारणलले बढि समय लाग्न सक्छ । विभिन्न निकायहरुबीच समन्वय गर्नु पर्ने तथा स्वीकृति लिनु पर्ने कारणले ग्रामिण क्षेत्रमा मृत्यु भएमा शव फिर्ताको लागि तुलानात्मक रुपमा बढी समय लाग्न सक्छ ।
- मृतकको नाममा कुनै प्रहरी केस, ट्राफिक जरिवाना, ओभरस्टे फाइन आदि भएमा एक्जिट भिसा र अनुमति पाउन समय लाग्न सक्छ।
- प्राकृतिक मृत्यु भएको अवस्थामा मुख्य शहरहरुमा औषतमा न्युनतम ३ हप्ता सम्म लाग्न सक्छ भने ग्रामिण क्षेत्रको हकमा १ महिना भन्दा बढी समय लाग्न सक्छ ।
- अप्राकृतिक मृत्यु भएको हकमा केसको अनुसन्धान एवम् फोरेन्सिक जाँच लगायतको प्रतिवेदन नआई यहाँ स्थित निकायहरुबाट शव फिर्तीको अनुमति प्राप्त नहुने भएकोले त्यस्तो प्रकृया सम्पन्न गर्न महिनौं लाग्ने हुन सक्छ । प्रहरी अनुसन्धान भई रहेको हकमा त्यस्तो अनुसन्धान समाप्त नभई नियोगले समेत कुनै थप जानकारी पाउने संभावना न्युन रहन्छ ।